३५ मिटर तल खस्यो बोलेरो, एक वर्षीय बालकसहित ९ जना घाइते

३५ मिटर तल खस्यो बोलेरो, एक वर्षीय बालकसहित ९ जना घाइते
52
 

 

ओखलढुङ्गा । ओखलढुङ्गामा यात्रु बोकेको बोलेरो जिप सडकबाट करिब ३५ मिटर तल खस्दा एक वर्षीय बालकसहित ९ जना घाइते भएका छन्।

आइतबार बिहान ७:१५ बजे सिद्धिचरण नगरपालिका–२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा दुर्घटना भएको हो।

निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिरमा दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा सिद्धिचरण नगरपालिका–२ का ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की र उनका एक वर्षीय छोरा रोयन मंग्राती घाइते भएका छन्।

त्यस्तै, २९ वर्षीय सबिन आचार्य, ७ वर्षीय आयुश मंग्राती, ७ वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, उनका ६ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती पनि घाइते भएका छन्।

दुर्घटनाको खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुङ्गा पठाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Related Post