नवलपुरमा बसको ठक्करबाट ६० वर्षीया महिलाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

नवलपुरमा बसको ठक्करबाट ६० वर्षीया महिलाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा
60

 

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१४, प्रगतिनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१६, सेमलारकी करिब ६० वर्षीया मञ्जु रिजाल शर्मा रहेकी छन्। उनी देवचुली नगरपालिका–१४ स्थित छत्तीसघरमा रहेको देवरको घरमा पाहुना आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दीप पेट्रोल पम्पनजिक सडक पार गर्ने क्रममा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४०६७ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएकी शर्मालाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याइएको थियो। उपचारकै क्रममा गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

Related Post