‘नयाँ पुस्तालाई विश्वास गरौँ, विकासको स्पष्ट योजना बनाऔँ’ : बाबुराम भट्टराई

04 October, 2026 58 Views
‘नयाँ पुस्तालाई विश्वास गरौँ, विकासको स्पष्ट योजना बनाऔँ’ : बाबुराम भट्टराई
58

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि दीर्घकालीन योजना बनाएर त्यसको कार्यान्वयनमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आगामी २० वर्षभित्र नेपाललाई विकसित मुलुकको स्तरमा पुर्‍याउने लक्ष्यसहित साझा विकास योजना बनाउनुपर्ने बताएका हुन्।

मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो समयमै विकासमा उल्लेख्य फड्को मारेको उदाहरण दिँदै भट्टराईले नेपालले पनि उनीहरूको विकास अनुभवबाट सिक्नुपर्ने बताए।

‘अहिले पनि समय छ, सबैले सोच्नुस्। अरू देश कसरी विकास भए ? हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?’ उनले भने।

उनले देश विकासका लागि स्पष्ट योजना बनाएर त्यसको कार्यान्वयनमा राजनीतिक दलहरू प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए।

‘त्यसको एउटा योजना बनाऔँ। त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौँ। त्यसो गरे मात्रै देश बन्छ,’ भट्टराईले भने।

भट्टराईले राजनीतिक स्थिरता कायम गर्न नयाँ पुस्तामाथि विश्वास गर्नुपर्ने पनि बताए। विगतका अनुभवबाट पाठ सिक्दै नयाँ पुस्तालाई नेतृत्व र जिम्मेवारी दिनुपर्ने उनको भनाइ थियो।

‘अब पाठ सिकौँ। अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ,’ उनले भने।

Related Post