प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि भंगहा नगरपालिकामा तालाबन्दी

10

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएको भन्दै नगरप्रमुखले नगरपालिका र ९ वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

नगरप्रमुख संजिवकुमार साहले सोमबार कार्यालयहरूमा तालाबन्दी गरेका हुन्। यसअघि उनले तीन दिनभित्र प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए अत्यावश्यक सेवाबाहेकका काम बन्द गर्ने चेतावनी दिएका थिए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १ गते खिमराज भुसाललाई भंगहाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो। तर, पत्र आएको लामो समय बितिसक्दा पनि उनी कार्यालयमा हाजिर नभएको नगरप्रमुख साहको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक र वित्तीय काम प्रभावित भएको तथा कर्मचारीको तलब–भत्ता, विकास योजना र दैनिक सेवा प्रवाहमा समेत समस्या भएको नगरप्रमुखले बताएका छन्।

तालाबन्दीपछि नगरप्रमुख साहले कार्यालयको चाबी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन्। नगरपालिकाले तत्काल प्रमुख प्रशासकीय अधिकृत हाजिर गराएर नियमित कामकाज सञ्चालन गर्न मन्त्रालयसँग माग गरेको छ।

Related Post