काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले शेयरधनीलाई वितरण गर्ने १०.५२ प्रतिशत नगद लाभांश पारित गर्न पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको साधारण सभा आगामी कात्तिक १७ गते ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित कुपण्डोल ब्याङ्क्वेटमा बिहान १० बजे बस्नेछ।
सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशत अर्थात् १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा बराबरको नगद लाभांश, करसहित, वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
त्यस्तै, दूधपोखरी चेपे हाइड्रोपावरको ऋणका लागि राष्ट्रिय वाणिज्य बैंकमा दिइएको संस्थागत जमानत अनुमोदन, १२.५०४ मेगावाटको मैवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सर्वेक्षण अनुमति पत्र हस्तान्तरण वा बिक्री गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन तथा लेखापरीक्षक नियुक्तिसहितका प्रस्तावमा समेत निर्णय गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २३ गते बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।