99
काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागीबाट प्रभावित परिवारलाई पाथीभरा देवी दर्शन केबलकार प्रालिले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
केबलकार प्रालिका प्रतिनिधिले बुधबार दोभान बजारमै पुगेर आगलागी पीडितका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
कम्पनीका सञ्चालक रुद्र पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत पीडितलाई राहतस्वरूप सहयोग गरिएको जानकारी दिए । कम्पनीले ताप्लेजुङमा विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएको जनाएको छ ।
ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको दोभान बजारमा गत असोज ८ गते आगलागी हुँदा १० वटा घरमा क्षति पुगेको थियो ।
स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको बताइएको थियो ।