काठमाडौं । रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको पहिचान गर्न नेपाल प्रहरीले उनका रगतका नातेदारबाट डीएनए नमुना संकलन गर्ने भएको छ । बाढीपछि फेला परेका पहिचान नखुलेका शव तथा मानव अंग कसका हुन् भन्ने पत्ता लगाउन आफन्तको रगतको नमुना लिएर डीएनए परीक्षण गरिनेछ । यसका लागि आफन्तले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी नमुना दिन सक्नेछन् ।
प्रहरीका अनुसार डीएनए नमुना दिन बेपत्ता व्यक्तिसँग रगतको नाता पर्ने आफन्त उपस्थित हुनुपर्नेछ । नमुना दिने व्यक्तिको दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्नेछ ।
बेपत्ता व्यक्तिका आफन्त विदेशमा रहेको अवस्थामा बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले विदेशमै डीएनए प्रोफाइलिङ गराएर त्यसको सफ्टकपी नेपाल पठाउन सक्नेछन् । त्यसका लागि प्रोफाइल नेपाल प्रहरीको इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन प्रहरीले अनुरोध गरेको छ ।
संकलन गरिएको आफन्तको डीएनए प्रोफाइललाई फेला परेका शव वा मानव अंगबाट निकालिएको डीएनए प्रोफाइलसँग तुलना गरेर पहिचान गरिनेछ । बाढीपछि ठूलो संख्यामा शव फेला परे पनि केहीको अवस्था बिग्रिएका कारण सामान्य तरिकाले पहिचान गर्न कठिन भएपछि डीएनए परीक्षणलाई महत्वपूर्ण आधार बनाइएको हो ।
प्रहरीले बेपत्ता आफन्त भएका परिवारलाई ढिला नगरी नजिकको जिल्ला प्रहरी कार्यालय वा नेपाल प्रहरी अस्पतालमा सम्पर्क गरी डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ ।