बाढीको मौका छोपेर कालोबजारी गर्नेलाई कारबाही

31 August, 2026 77 Views
बाढीको मौका छोपेर कालोबजारी गर्नेलाई कारबाही
77

काठमाडौं । बाढीपहिरोका कारण सडक अवरुद्ध भएसँगै खाद्यान्न र खाना पकाउने ग्यासको अभाव तथा कृत्रिम मूल्यवृद्धि हुन नदिन सरकारले बजार अनुगमन तीव्र बनाउने भएको छ। चाडपर्व नजिकिँदै गर्दा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबारदेखि काठमाडौं उपत्यकामा १० वटा विशेष टोली परिचालन गर्ने तयारी गरेको छ।

विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार हाल चार वटा टोलीले बजार अनुगमन गरिरहेका छन्। मंगलबारदेखि मन्त्रालयबाट थप कर्मचारी ल्याएर करिब ४० जनालाई १० टोलीमा विभाजन गरी उपत्यकाका १३ क्षेत्रमा अनुगमन गरिनेछ।

बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या देखिएको छ। यही अवस्थाको फाइदा उठाउँदै कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी खाद्यान्न थुपार्न थालेपछि बजारमा कृत्रिम अभाव सिर्जना हुनसक्ने जोखिम बढेको विभागको भनाइ छ।

विभागले अहिले बजारमा रहेको अधिकांश सामान पुरानै ढुवानी र लागतमा आएको भन्दै त्यसको मूल्य बढाएर बिक्री गर्न नपाइने स्पष्ट पारेको छ। नयाँ ढुवानी नआएको र ढुवानी भाडासमेत नबढेको अवस्थामा पुरानै स्टकलाई नयाँ भन्दै महँगोमा बिक्री गरे कालोबजारी मानिने विभागले जनाएको छ।

विभागका अनुसार पछिल्ला दिनको खरिद–बिक्री मूल्यसमेत जाँच गरिनेछ। मूल्यमा कृत्रिम वृद्धि वा अन्य कैफियत भेटिए तत्काल कारबाही गरिने चेतावनी दिइएको छ।

 
 

Related Post