विपद् प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी नभएको कांग्रेस सचेतक राईको आरोप

31 August, 2026 115 Views
विपद् प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी नभएको कांग्रेस सचेतक राईको आरोप
115

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण, खोज तथा उद्धार र व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारलाई थप गम्भीर भएर काम गर्न आग्रह गरेका छन्। उनले आवश्यकतामा रहेका नागरिकले राहत नपाएको तर कतिपय स्थानमा राहत सामग्री थुप्रिएर बसेको भन्दै वितरण प्रणाली सुधार गर्नुपर्ने बताएका छन्।

कांग्रेस संसदीय दलको बैठकमा विपद्को अवस्थाबारे छलफल भएको जानकारी दिँदै राईले सामाजिक सञ्जालमा सरकार अत्यन्त सक्रिय देखिए पनि प्रभावित क्षेत्रको वास्तविक अवस्था फरक रहेको बताएका हुन्।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रभावित क्षेत्रमा पुगेर फर्किएको र स्थानीय तहका जनप्रतिनिधि, स्थानीयवासी तथा प्रभावित परिवारसँगको सम्पर्कबाट राहतको वास्तविक अवस्था बुझिएको राईले बताए।

उनका अनुसार कतिपय प्रभावितले आवश्यक राहत पाउन सकेका छैनन् भने केही ठाउँमा राहत सामग्री थुप्रिएर बसेको छ। राहत सामग्री पठाउने र प्रभावितसम्म पुर्‍याउने संयन्त्र प्रभावकारी हुन नसकेको उनको भनाइ छ।

सरकारले अपनाएको एकद्वार प्रणालीमा स्थानीय तहसँग पर्याप्त समन्वय हुन नसकेको गुनासोसमेत आएको राईले बताए। स्थानीय तहसँग प्रभावित नागरिकको तथ्याङ्क र वास्तविक अवस्थाबारे प्रत्यक्ष जानकारी हुने भएकाले राहत वितरणमा स्थानीय तहलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने उनले बताए।

सत्तासीन दलका सभापतिले पछिल्लो समय सम्पर्क र सहकार्यका लागि पहल गरेको विषयलाई भने राईले सकारात्मक रूपमा लिएका छन्। तर त्यसलाई अझ प्रभावकारी ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ।

राईले विपद् व्यवस्थापनका लागि सरकारले तत्काल अद्यावधिक र स्पष्ट तथ्याङ्क संकलन गर्नुपर्ने बताए। विपद्अघि कति जनसंख्या थियो, हाल कति जना सम्पर्कमा छन्, कति सुरक्षित स्थानमा पुगेका छन्, कति बेपत्ता छन्, कति जनाको मृत्यु भएको छ र कति जना अज्ञात अवस्थामा छन् भन्ने यकिन विवरण आवश्यक रहेको उनले बताए।

यस्तो तथ्याङ्क स्थानीय तह, सुरक्षा निकाय र नागरिक प्रतिनिधिसँग रहेकाले सबै पक्षलाई संयुक्त रूपमा परिचालन गरी खोज तथा उद्धार अघि बढाउनुपर्ने उनको भनाइ छ। विपद् व्यवस्थापनको काम जटिल रहेको र आवश्यक उपकरणको समेत अभाव रहेको राईले उल्लेख गरे।

सरकारले कांग्रेसलाई छलफलका लागि ढिला बोलाएको गुनासो गर्दै उनले विपद्को समयमा संसद् तत्काल सञ्चालन गर्नुपर्ने मागसमेत गरे। संसद्मार्फत सरकारलाई जवाफदेही बनाउन सके नागरिकमा विश्वास कायम गर्न र राज्यको उपस्थितिको अनुभूति दिलाउन सहयोग पुग्ने उनको भनाइ छ।

राईले राहत वितरण, खोज तथा उद्धार र पुनःस्थापनाको कामलाई निष्पक्ष तथा प्रभावकारी बनाउन उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्। साथै, संसद् सुचारु गरी विपद्सँग सम्बन्धित समस्या र समाधानका विषयमा तत्काल छलफल अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

Related Post