रेशम चौधरीको टिप्पणी : ‘काला कपाल भएकाले पनि देश बनाउने छनक देखाएनन्’

04 October, 2026 63 Views
रेशम चौधरीको टिप्पणी : ‘काला कपाल भएकाले पनि देश बनाउने छनक देखाएनन्’
63

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेशमलाल चौधरीले नयाँ पुस्ताका नेताहरूबाट पनि देश विकासको स्पष्ट संकेत नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विगतमा कपाल फुलेका नेताहरूले देश बिगारेको आरोप लाग्ने गरेको स्मरण गराउँदै अहिलेका युवा नेताहरूले पनि देश बनाउने आधार प्रस्तुत गर्न नसकेको टिप्पणी गरे।

कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्दै चौधरीले आफूले उनलाई विश्वास गर्ने भए पनि नयाँ पुस्ताका नेताहरूको कार्यशैलीप्रति सन्तुष्ट हुन नसकेको बताए।

‘गगनजी तपाईं आज संयोगले अगाडि हुनुहुन्छ। म त तपाईंलाई विश्वास गर्ने मान्छे, दुःख माने मान्नुस्, नमाने नमान्नुस्, हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे,’ उनले भने, ‘अहिले कैला जुँगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन्।’

यद्यपि, उनले गगन थापाको पुस्ताले देशलाई सही दिशामा अघि बढाउने विश्वास व्यक्त गरे।

‘अब आधाआधि कपाल फुलेको, गगनजीको जस्तो १०–२० वटा दाह्री फुलेको, ५०–६० वटा कपाल फुलेको यो नेताले देश पक्कै बनाउँछ भन्ने विश्वास छ,’ चौधरीले भने।

Related Post