काठमाडौं। सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरमा सोमबार बिहान यात्रुवाहक बसले सडक किनारमा रोकिराखिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्। दुर्घटनाको ३० घण्टाभन्दा बढी बितिसक्दा पनि उनीहरूको अवस्था अज्ञात रहेपछि पीडित परिवार र स्थानीयले मध्यपहाडी (पुष्पलाल) लोकमार्गको घुर्मी–खुर्कोट खण्ड अवरुद्ध गरेका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब १०ः३० बजे सडक किनारमा रोकिएको कारलाई पछाडिबाट यात्रुवाहक बसले ठक्कर दिएपछि कार नदीमा खसेको हो।
बेपत्ता हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का ३९ वर्षीय दिलकुमार लामा, गोलान्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा र तिनपाटन गाउँपालिका–९, डाँडाखर्कका १७ वर्षीय सुजन बलमपाकी मगर रहेका छन्।
दिलकुमार लामा जुगल गाउँपालिका–७ का पूर्व वडाध्यक्ष, नेकपा (एमाले) का नेता तथा निर्माण व्यवसायी हुन्। गणेश थापा स्काभेटर चालक रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले सुनकोशी नदीमा निरन्तर खोजी गरिरहेको भए पनि हालसम्म बेपत्ता भएका तीनै जनाको कुनै अत्तोपत्तो लागेको छैन। नदीमा पानीको बहाव तीव्र र धमिलो भएकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।
उता, बेपत्ता व्यक्तिका आफन्तले कारलाई ठक्कर दिने बसका व्यवसायीले घटनाप्रति कुनै चासो नदिएको आरोप लगाउँदै मंगलबार बिहानदेखि ओखलढुंगातर्फ जाने सडक अवरुद्ध गरेका छन्। दिलकुमार लामाका आफन्तले बीपी राजमार्गअन्तर्गत खुर्कोट क्षेत्रमा समेत सवारी साधन रोकेर आन्दोलन गरेका छन्।
प्रहरीले भने बस व्यवसायीलाई छलफलका लागि बोलाइएको जनाएको छ। बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।