काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई सर्वसाधारणले सहजै बुझ्न सक्ने गरी ‘नागरिक बजेट’ सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालयले ‘हाम्रो कर, हाम्रै बजेट, हाम्रै भविष्य’ भन्ने नारासहित बजेटसम्बन्धी जानकारी सरल भाषामा समेटिएको पुस्तिका आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो।
बजेट प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले तयार गरिएको पुस्तिकामा बजेट निर्माण प्रक्रिया, सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण र आर्थिक लक्ष्यबारे जानकारी समेटिएको छ।
त्यस्तै, करसम्बन्धी व्यवस्था, तीन तहका सरकारबीच राजस्व बाँडफाँट तथा किसान, विद्यार्थी, महिला, श्रमिक र उद्यमीका लागि बजेटमा समावेश गरिएका कार्यक्रमबारे पनि उल्लेख गरिएको छ।
पुस्तिकामा आगामी बजेट निर्माणमा नागरिकको सहभागिता जनाउने प्रक्रिया र बजेटसम्बन्धी प्राविधिक शब्दावलीको सरल व्याख्यासमेत समावेश गरिएको छ।