काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ दलभित्रै विवाद चर्किएको छ। बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ।
प्रदेशसभा सचिवालयले आज बिहान ८ बजेका लागि बोलाएको बैठक भोलि बिहान ९ बजेसम्मका लागि सारेको हो। आजै बजेट पारित गर्ने तयारी भए पनि सत्तारुढ दलकै सांसदहरू असन्तुष्ट बनेपछि सरकारलाई बजेट पारित गराउन चुनौती थपिएको छ।
सरकारले प्रस्तुत गरेको बजेट निर्माण प्रक्रियामा सीमित व्यक्तिको मात्र संलग्नता रहेको र पर्याप्त छलफल नगरी निर्णय गरिएको भन्दै सत्तारुढ पक्षका सांसदहरूले असन्तुष्टि जनाएका छन्। बजेटमा बिचौलियामार्फत कमिसनको खेल भएको आरोपसमेत लागेको स्रोतको दाबी छ। केही मन्त्री पनि बजेटप्रति असन्तुष्ट रहेको बताइएको छ।
बजेट निर्माणमा अर्थमन्त्री चक्रबहादुर मल्ल, मुख्यमन्त्री खगराज भट्ट र अर्थसचिव राजेन्द्र हमालले एकलौटी गरेको आरोपसमेत लागेको छ। बजेटका विषयमा आवश्यक छलफल नगरी सीमित व्यक्तिले निर्णय गरेको भन्दै सत्तारुढ दलकै सांसदहरूले आपत्ति जनाएका हुन्।
विवाद चर्किएपछि मुख्यमन्त्री भट्टले मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन्। छलफलमा बजेटप्रति देखिएको असन्तुष्टि सम्बोधन गर्ने र प्रदेशसभाबाट बजेट पारित गराउने विषयमा कुराकानी हुने बताइएको छ।
सत्तारुढ दलभित्रको असन्तुष्टि तत्काल समाधान नभए बजेट पारित गर्ने प्रक्रिया थप लम्बिने देखिएको छ। प्रदेशसभामा बजेटको पक्षमा आवश्यक समर्थन जुटाउन सरकारलाई चुनौती देखिएको छ।