तिब्बतमा थुनिएको तालबाट पानी बग्न थाल्यो, ठूलो बाढीको जोखिम घट्यो

30 August, 2026 112 Views
तिब्बतमा थुनिएको तालबाट पानी बग्न थाल्यो, ठूलो बाढीको जोखिम घट्यो
112

काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा पहिरोले नदी थुनिएर बनेको कृत्रिम तालबाट पानी बाहिरिन थालेपछि ताल एकैपटक फुटेर ठूलो बाढी आउने जोखिम घटेको चिनियाँ अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार अहिले तालबाट पानीको निकास भइरहेको छ र समग्र अवस्था स्थिर छ।

चिनियाँ सरकार नियन्त्रित सञ्चारमाध्यम सीसीटीभीमार्फत प्रसारित तिब्बत क्षेत्रीय सरकारको पत्रकार सम्मेलनमा अधिकारीहरूले कृत्रिम ताल भरिएपछि पानी बाहिर निस्कन थालेको जानकारी दिएका हुन्। उनीहरूका अनुसार ताल पूर्ण रूपमा भत्किने जोखिम अहिले तुलनात्मक रूपमा निकै कम छ।

चिनियाँ प्रारम्भिक अध्ययनअनुसार लाङटाङ लिरुङ हिमशृंखला नजिकैको हिमनदीको ठूलो भाग भत्किएर नदीमा खसेपछि हिमपहिरो र पहिरो गएको हो। त्यसपछि हिउँ, चट्टान र पानी मिसिएको लेदो तीव्र गतिमा तलतिर बगेको थियो।

चिनियाँ प्राविधिक अध्ययनले उक्त लेदो केरुङ नाकासम्म पुग्न करिब ६ देखि ७ मिनेट मात्रै लागेको देखाएको छ। यति छोटो समयमा बाढी सीमा क्षेत्रमा आइपुगेकाले त्यहाँ रहेका नागरिक तथा तीर्थयात्रीलाई सुरक्षित स्थानमा पुग्न पर्याप्त समय नपाएको बताइएको छ।

पहिरोका कारण नदी थुनिएपछि बनेको तालमा पानीको मात्रा बढ्दै गए पनि अहिले पानी क्रमशः बाहिरिन थालेको अधिकारीहरूको भनाइ छ। यसले तल्लो तटीय क्षेत्रमा थप ठूलो बाढी आउने सम्भावना केही कम गरेको छ।

यद्यपि, नेपालतर्फ भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम पूर्ण रूपमा टरेको छैन। त्यसैले नदी किनार तथा तल्लो क्षेत्रमा रहेका बस्तीका बासिन्दालाई अझै सतर्क रहन आवश्यक रहेको बताइएको छ।

यसअघि केरुङ क्षेत्रमा आएको भीषण बाढीमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीपछि सीमा क्षेत्र हुँदै नेपालतर्फ पनि भोटेकोसी र त्रिशूली नदीको बहाव बढेको थियो।

Related Post