काठमाडौं ।सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार गएराति करिब २:५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापा र पछाडि सवार सोही स्थानका ३४ वर्षीय सागर रेग्मी गम्भीर घाइते भएका थिए।
दुर्घटनालगत्तै प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते दुवै जनालाई उद्धार गरी बिहान ३:२३ बजे उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित घोपा पठाइएको थियो।
उपचारका क्रममा मोटरसाइकल चालक थापाको बिहान ५:११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, पछाडि सवार रेग्मीको उपचारकै क्रममा बिहान ४:५२ बजे मृत्यु भएको हो। रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारीसमेत रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।