तस्बिरसँग अनुहार नमिलेपछि जेनजी सहिदका शालिक अनावरण स्थगित

तस्बिरसँग अनुहार नमिलेपछि जेनजी सहिदका शालिक अनावरण स्थगित
57

काठमाडौं । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निर्माण गरिएका जेनजी सहिदका शालिकको अनुहार परिवारले दिएको तस्बिरसँग नमिलेपछि अनावरण कार्यक्रम स्थगित भएको छ। भदौ २३ को जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाको सम्झनामा बनाइएका शालिक आज अनावरण गर्ने तयारी थियो। तर, परिवारजनले शालिकको अनुहार र उमेरसमेत नमिलेको भन्दै असन्तुष्टि जनाएपछि कार्यक्रम रोकिएको हो। मन्त्रीहरूले एक महिनाभित्र शालिक पुनर्निर्माण गर्ने बताएका छन्।

शालिक अनावरणका लागि सबै सहिद परिवारलाई निमन्त्रणा गरिएको थियो। गृहमन्त्री सुदन गुरुङ र पूर्वाधारमन्त्री सुनील लम्सालसहित सरकारका मन्त्री तथा सांसदहरू पनि कार्यक्रममा पुगेका थिए।

औपचारिक अनावरणअघि परिवारका सदस्यले सम्बन्धित सहिदको शालिक हेरेका थिए। तर, अधिकांश शालिक आफूहरूले उपलब्ध गराएको तस्बिरसँग नमिलेको भन्दै उनीहरूले आपत्ति जनाएका थिए।

परिवारजनले गुनासो राखेपछि अनावरण कार्यक्रम स्थगित गरिएको हो। मन्त्रीहरूले अब एक महिनाभित्र सबै शालिक पुनःनिर्माण गर्ने बताएका छन्।

एक सहिद परिवारका सदस्यले शालिक निर्माणमा लापरबाही भएको आरोप लगाउँदै २४–२५ वर्षका युवालाई ४०–४५ वर्षको जस्तो बनाइएको गुनासो गरेका छन्।

जेनजी आन्दोलनका सहिदको शालिक निर्माण गर्ने निर्णय तत्कालीन सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले गरेको थियो। सोही सरकारको पालामा निर्माण सुरु गरिएको शालिक अहिले तयार भएको हो।