यूएईमाथि नेपालको घातक बलिङ, १२१ रनमै समेटियो विपक्षी टोली

22 November, 2026 158 Views
यूएईमाथि नेपालको घातक बलिङ, १२१ रनमै समेटियो विपक्षी टोली
158

काठमाडौं । एसिया कप राइजिङ स्टार्स मेन्स २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा नेपालले यूएईलाई सस्तैमा समेटेको छ। कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीमा टस जितेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई ३९.५ ओभरमा १२१ रनमै अलआउट गरेको हो।

नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले सर्वाधिक ३–३ विकेट लिए। सन्दीपले १० ओभरमा ३ मेडन राख्दै मात्र ११ रन खर्चिए। त्यस्तै, कुशलले ५ ओभरमा १५ रन दिएर ३ विकेट झारे।

नन्दन यादव, राशिद खान र ललित राजवंशीले पनि १–१ विकेट हात पारे। नन्दनले ४.५ ओभरमा २८, राशिदले ४ ओभरमा १३ र ललितले ८ ओभरमा २७ रन खर्चिए।

यूएईका लागि मुहम्मद शहजादले सर्वाधिक ४० रन बनाए। उनले ७० बलमा ५ चौका प्रहार गरे। हरप्रीत सिंहले ३२ रन जोड्दा नुरुल्लाह अयोबीले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

खेलको सुरुवातमै यूएईले दुई विकेट गुमाएको थियो। आर्यन्स शर्मा ८ र अंश टन्डन १ रनमा आउट भए। त्यसपछि हरप्रीत र शहजादले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे।

तर, सन्दीप लामिछानेले हरप्रीतलाई आउट गरेपछि यूएईको ब्याटिङ क्रम लगातार धराशायी बन्यो। ९९ रनमा ७ विकेट गुमाएको यूएईले थप २२ रन जोड्दा बाँकी तीन विकेट पनि गुमायो।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल भारत ‘ए’सँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो। भारत ‘ए’ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल केवल २६ रनमै समेटिएको थियो।

अब नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा मंगलबार पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ। यूएईलाई कम योगफलमा समेटेको नेपाल अब ब्याटिङमा कस्तो प्रदर्शन गर्छ भन्ने चासो बढेको छ।

 

Related Post