यलुङ री हिमालमा पाँच जनाको शव फेला, चार काठमाडौं ल्याइयो

10 August, 2026 29 Views
यलुङ री हिमालमा पाँच जनाको शव फेला, चार काठमाडौं ल्याइयो
29

काठमाडौं । दोलखाको रोल्वालिङ हिमश्रृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गत वर्ष हिमपहिरोमा बेपत्ता भएका पाँच जनाको शव फेला परेको छ। तीमध्ये चार जनाको शव हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

गत साउन २१ गते स्थानीयले हिउँ पग्लिएको स्थानमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खराब मौसमका कारण शव निकाल्न कठिनाइ भए पनि सुरक्षाकर्मीले सातौँ प्रयासमा पाँचै शव संकलन गरेका हुन्।

दोलखाका डीएसपी मनोज लामाका अनुसार काठमाडौं ल्याइएका चार शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ। दोलखा घर भएका नेपाली पथप्रदर्शक पदम तामाङको शव भने चरिकोटमै पोस्टमार्टम गरिनेछ।

फेला परेका शवमध्ये दोलखाको गौरीशंकर गाउँपालिका–९ का पथप्रदर्शक पदम तामाङ, सोलुखुम्बुको माप्यदुधकुण्ड गाउँपालिका–५ का मेर कार्की तथा क्यानडाका मार्को डी मार्सेलो, इटलीका मर्कस करचिलर र जर्मनीका क्याकोब इसरिवर रहेका छन्।

उनीहरू गत वर्ष कात्तिक १७ गते यलुङ री आरोहणका क्रममा आधार शिविरनजिकै आएको हिमपहिरोमा परेर बेपत्ता भएका थिए। त्यसबेला १५ जना हिमपहिरोमा फसेका थिए। त्यसमध्ये आठ जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो भने इटली र फ्रान्सका दुई आरोहीको शव त्यतिबेलै निकालिएको थियो।

पछिल्लो पटक फेला परेका पाँचै जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ। पाँचमध्ये तीन विदेशी आरोही र एक नेपाली पथप्रदर्शकको शव काठमाडौं ल्याइएको हो।

Related Post