उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने नेविसंघका ६ जनालाई २ वर्ष कैद

सेयर गर्नुहोस्

८ मंसिर,काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परिसरभित्रै साढे ३ वर्षअघि उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जनालाई बिहीबार जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले हरिप्रसाद आचार्य, योगेन्द्र रावल, रूपेश साह, रवीनकुमार लामा, सयुज श्रेष्ठ र नीरज रानामगरलाई ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर गरेको हो । उनीहरू सत्तारूढ कांग्रेस आवद्ध नेपाल विद्यार्थी संघका कार्यकर्ता थिए ।आचार्य तत्कालीन त्रिवि नेविसंघ सभापति र रावल सचिव थिए । उनीहरूबाट उपचार खर्चबापतको २८ लाख १७ हजार रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत आदेश भएको अदालतले जनाएको छ । ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । आरोपितमध्ये दीपकराज ओझाले भने सफाइ पाएका छन् । सोही मुद्दामा श्रेष्ठ थुनामा छन् भने अन्य आरोपितले अदालतको तारेख गुजार्दै आएका थिए । आचार्य अमेरिका र रानामगर भने हाल अस्ट्रेलिया पुगेको स्रोतले जनायो । रावल पछिल्लो समय पनि त्रिवि सेवा आयोगलगायत विश्वविद्यालयमा तालाबन्दीलगायतका गतिविधिमा सक्रिय हुँदै आएका छन् । सोही समूहले ४३ दिनसम्म गरेको तालाबन्दीको क्रममा चलाउनेमाथि सांघातिक आक्रमण भएको थियो ।

अदालतको आदेशपछि पनि दोषीहरूले सजाय पाउनेमा चलाउनेले भने आंशका व्यक्त गरेका छन् । ‘सत्ताको दुरुपयोग गरेर अदालतमा विचराधीन मुद्दासमेत फिर्ता भएको थियो । ढिलै भए पनि आंशिक रूपमा न्याय पाएको छु,’ उनले भने, ‘अदालतको फैसला तत्काल कार्यान्वयन होस् ।’

गत असार अन्तिम साता मन्त्रिपरिषद् बैठकले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । निर्णयको चौतर्फी आलोचना भएपछि चलाउने सरकारविरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले सरकारको निर्णय लागू नगर्ने आदेश दिएपछि मुद्दा अघि बढेको थियो । तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले मुद्दा फिर्ताको प्रक्रिया अघि बढाएको र कानुनमन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्मा लबिइङ गरेर निर्णय गराएको आरोप छ । गुरुङले सार्वजनिक रूपमै नेविसंघका कार्यकर्तालाई फसाउन झूटा मुद्दा लगाइएको दाबी गर्दै आएका छन् । उपप्राध्यापक ताला फुटाउन गएकाले कुटपिट भएको उनको जिकिर छ । चलाउने त्रिवि समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक हुन् । २०७७ असोज २० गते त्रिवि कीर्तिपुर परिसरको नेपाल बैंकअगाडि उनीमाथि आक्रमण भएको थियो । मरणासन्न हुने गरी कुटिएका उनलाई विद्यार्थीले उद्धार गरेर उपचार गर्न अस्पताल लगेका थिए । रडलगायत धारिला हतियारबाट उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । उनी एक महिनापछि अस्पतालबाट डिस्चार्ज भए पनि ६ महिनासम्म नियमित उपचारमा थिए । अझै पनि उनी पूर्ण रूपमा निको भइसकेका छैनन् ।

आचार्य र रावलको योजना र नेतृत्वमा आक्रमण भएको प्रहरीको अनुसन्धानमा देखिएको थियो । प्रहरीले ७ जनामाथि ज्यान मार्ने उद्योग आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तर, अदातलले उनीहरूलाई सामान्य धरौटीमा छाडेको थियो । चलाउनेले उच्च अदालत पाटनमा जिल्लाको आदेश बदरको माग गर्दै रिट दिएका थिए । त्यसपछि उच्चले पाँच लाख धरौटीमा छाड्न आदेश दिएको थियो । पीडितलाई जनही एक लाखका दरले राहत दिनसमेत आदेश दिएको थियो ।

मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेकै अवस्था कांग्रेस काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौंको सिफारिसमा गृह मन्त्रालयले मुद्दा फिर्ताको प्रक्रिया र प्रस्ताव अघि बढाएको थियो । त्यसैलाई टेकेर सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । सर्वोच्चले सरकारको मुद्दा फिर्तासम्बन्धी निर्णय कार्यान्वयन नगर्नु भन्ने अन्तरिम आदेश दिएपछि जिल्ला अदालतले मुद्दा अघि बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *