गुणस्तरहिन कस्मेटिक सामग्री रोक लगाउन सांसदहरुले माग

सेयर गर्नुहोस्

५ मंसिर, काठमाडौं ।   बुधवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले यस्तो माग गरेका हुन् । उनीहरुले गुणस्तरहिन सामानको प्रयोगले महिलाहरुमा छाला बिग्रने जस्ता समस्या आउने खतरा रहेको भन्दै बजार अनुगमन प्रभावकारी बनाउन माग गरे । सांसदहरुले बाहिरबाट कच्चा पदार्थ ल्याएर अन्तर्राष्ट्रिय ब्राण्डको नाममा बजारमा कस्मेटिक पसल तथा पार्लरहरुले प्रयोगमा ल्याउने गरेको बताए । उनीहरुले सरकारले विदेशबाट नेपालमा खरिद बिक्रीको लागि अनुमति नै नभएका ब्राण्ड समेत बजारमा ल्याइ बेच्ने गरेको बताए । सांसदहरुले सरकारले खाद्य तथा सौन्दर्यको लागि प्रयोगमा ल्याउने सामानहरुको ल्याब टेस्टमार्फत गुणस्तर परीक्षण गरे÷नगरेको अनुगमन गर्न आवश्यक रहेको बताए । समिति बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले महिलाहरुले प्रयोग गर्ने कस्मेटिक सामान बनाउने कच्चा पदार्थ आयात गरेर अन्तर्राष्ट्रिय ब्राण्डको नाममा प्याकेजिङ गरी बजारमा बेच्ने गरेको बताए । उनले कस्मेटिक उद्योगहरुले गुणस्तरहीन कस्मेटिक सामान ल्याएर अन्तर्राष्ट्रिय ब्राण्डको भनि ग्राहकहरुलाई झुक्याउने गरेको बताए । गुणस्तरहिन कस्मेटिक सामान प्रयोगले महिलाहरुमा छाला लगायतका ठूलो समस्या आउने खतरा रहेको बताउनु भयो। उहाँले कस्मेटिक वस्तुहरुको गुणस्तरमा सरकारले ध्यान दिन नसके महिलाहरुको स्वास्थ्यमा विकाराल अवस्था आउनसक्ने बताउनु भयो । उहाँले नेपालमा अनुमति नभएका अन्तर्राष्ट्रिय कस्मेटिक सामानहरु रहेको बताए । उनले पछिल्लो समय भारतबाट मिति सकिएका औषधिहरु नेपालमा आयात भइरहेकाले अनुगमनलाई प्रभावकारी बनाउन माग गरे । उनले नेपालमा प्रयोग हुने खाने तेलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभइ २२ प्रतिशत भन्दा बढी अखाद्य पदार्थ मिसावट भएको विभिन्न अध्ययनले देखाएको पनि बताए ।
त्यस्तै,नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले गुणस्तरहिन कस्मेटिक तथा औषधिजन्य सामानको प्रयोगबाट आएको समस्या आफैँले भोगेको बताउए। उनले काठमाडौंका विभिन्न फेसियल सेन्टरमा अनुमति नभएका औषधि प्रयोग गरेर अनुहार राम्रो हुने भन्दै दैनिक २ लाखसम्म आम्दानी गर्ने गरेको बताउनु भयो । उहाँले सरकारले त्यस्तो ठाउँमा अनुगमन गरी रोक्न आवश्यक रहेको बताएयो । उनले एक पटक फेस जाँच गर्दा आफैँले २८ हजार रुपैयाँ खर्च गरेको बताए ।

बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद सीता मिजारले गुणस्तरहिन कस्मेटिक र औषधिको सिकार महिला मात्रै नभएर धेरै पुरुषहरु समेत भइरहेको बताए । उनले सामान्य मानिसहरु समेत हाइटोफेसियल गर्ने भनेर सांसदहरुलाई समेत बोलाउने गरेको बताए । उनले सरकारले कुन मापदण्डमा यस्तो काम गर्न दिएको छ त्यो विषयमा पनि अनुगमन गर्न आवश्यक रहेको बताए । उनले तीन तहका सरकार भएपनि कसले के अनुगमन गर्ने भन्ने अन्योल रहेकाले समस्या भएको देखिएको भन्दै बजार अनुगमनलाई समन्यकारी रुपमा गर्ने ऐनको व्यवस्था गर्न आवश्यक रहेको बताए ।

बैठकमा बोल्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले कस्मेटिक समानहरुको गुणस्तर मापन गर्ने ल्याप नभएको बताए । उनले गुणस्तर मापन गर्ने ल्याब नभएकाले गुणस्तर नभएका कस्मेटिक पदार्थहरु प्रयोग गर्दा महिलाहरुमा छालाजन्य रोगहरु बढ्नसक्ने बताए । उनले गुणस्तर परीक्षणको लागि नाप तथा तौल विभागलाई आग्रह गरेको बताए।

उनले नेपालमा अर्बौं रुपैयाँको केमिकल मिश्रण भएका हानिकारक वस्तुहरु आयात भएपनि गुणस्तर परीक्षण गर्ने ल्याब नहुँदा परीक्षण गर्न नसकिएको बताए । उहाँले मापन नहुँदा स्वास्थ्यको लागि कति हानिकारक छ भन्ने मापदण्ड पनि नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *