१ फागुन, धनगढी । कञ्चनपुरमा पत्रकार पक्राउ परेको मुद्दामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ का दशरथ धानुक र वडा नं १८ का कर्णबहादुर चन्द रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए । प्रहरीले विद्युतीय अपराधसम्बन्धी एक मुद्दामा पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यही मुद्दामा अनुसन्धानका लागि सोमबार धानुक र चन्दलाई पनि पक्राउ गरेको हो ।
प्रहरीले यसअघि सामाजिक सञ्जालमा जथाभावी लेखेर चरित्र हत्या गरेको उजुरीका आधारमा शनिबार पत्रकार भट्ट र कुँवरलाई पक्राउ गरेको थियो । उनीहरु दुबै जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कञ्चनपुरले प्रहरीलाई अनुमति दिएको छ ।