२० फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको सत्तारुढ गठबन्धन कुनैपनी बेला टुट्न सक्ने बताएका छन् । आइतबार जनकपुरमा पत्रकारहरुसँगको कुराकानीमा उनले गठबन्धनभित्र आफूहरुले तमासा भइरहेको देखेको बताए । गठबन्धनभित्रका तमासाहरु हामी देखिरहेका छौँ । त्यो कुन रुपमा विकसित हुन्छ हेरिरहेका छौं । हामी त्यति रुचि र चाखका साथ गठबन्धनलाई हेरिरहेका छैनौं । यो गठबन्धन आफैंभित्रका समस्याहरुले, अन्तरबिरोधले चर्मराइरहेको छ । कुनैपनि बेला टुट्न, फुट्न सक्छ’, उनले भने । एमाले उपाध्यक्ष पौडेलले शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा सत्ता गठबन्धनकै कारण मुलुकले गम्भीर समस्या झेलिरहेको बताए ।
‘समाजको अग्रगतिका लागि यो गठबन्धन प्रमुख बाधक हो । पछिल्लो दिनमा यो गठबन्धन आफैं भित्रका अन्तरविरोध र समस्याहरुको भुमरीमा फसेको छ । यो कुनै सिद्धान्त, आदर्शबाट गठित गठबन्धन होइन । यो स्वार्थ, लेनदेनमा आधारित छ, लामो समयसम्म चल्न सक्दैन’, उनले भने ।