३० असार,काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सिल्भेनिआमा आयोजित एउटा र्याली कार्यक्रममा गोली प्रहार भएको छ। उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको हुन सक्ने त्यँहाका सुरक्षाकर्मीहरुले बताएका छन् । उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ। उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको देखिन्छ। उक्त र्यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो। गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए। त्यस क्रममा ट्रम्पले मुट्ठी उचाल्दै समर्थकहरूप्रति केही सङ्केत गरेको देखिन्छ।
घटनापछी ट्रम्पले आफैँले खोलेको सामाजिक सञ्जाल ट्रूथ सोशल मा एउटा सन्देश लेख्दै आफू सकुशल रहेको र स्थानीय स्वास्थ्य संस्थाले उनको उपचार गरिरहेको जनाएका छन्। ट्रम्पले लेखेका छन्, सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो। धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ। उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उनको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो।