बीपी राजमार्ग पुर्णरुपमा सञ्चालन हुन तीन महिना लाग्ने

सेयर गर्नुहोस्

१५ असोज,काठमाडौं बीपी राजमार्गअन्तर्गत धुलिखेल–बर्दिबास सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आउन तीन महिना लाग्ने भएको छ ।

लगातारको वर्षाका कारण उक्त राजमार्गअन्तर्गत नेपालथोक–भकुण्डे र रोशी गाउँपालिकाको बर्खे खोलाको कटानले सडक बगाएपछि उक्त सडक निरन्तर अवरुद्ध छ ।उक्त राजमार्गका विभिन्न ठाउँको पहिरो हटाउने र भाँसिएको सडकखण्डमा वैकल्पिक रुपमा यातायात सञ्चालन गराउन पहल भइरहेको सडक विभागले जनाएको छ । यद्यपि, भाँसिएको र भत्केको सडकको खण्डको पुनः निर्माण गर्न भने केही महिना लाग्ने देखिएको हो ।

दशैँअघि बीपी राजमार्गलाई एकतर्फी रुपमा सञ्चालन गर्ने गरी भाँसिएको ठाउँबाट सडक डाइभर्सन गरी वैकल्पिक रुपमा यातायात खुलाउने विभागको योजना छ ।  सडक विभागका अनुसार, राजमार्गको नेपालथोक–भकुण्डे खण्डमा ५० मिटरभन्दा बढी सडक भाँसिएकाले तत्काल अवरुद्ध सडक खुलाउन सकिने अवस्था नरहेको सडक डिभिजन खाल्टेका सूचना अधिकारी इन्जिनियर प्रदीप तामाङले जानकारी दिए । उनका अनुसार, बीपी राजमार्ग दुईतर्फी रुपमा यातायात सुचारु हुन केही दिन लाग्नेछ ।

‘नेपालथोक क्षेत्रमा सडक भासिएको छ । करिब ५० मिटर भासिएको सडक खुलाउन प्रयास गरिरहेका छौं,’ उनले भने, ‘त्यस सडकलाई डाइभर्सन गराएर एकतर्फी यातायात सुचारु गर्न खोजिरहेका छौं ।’ उनका अनुसार, भाँसिएको सडकलाई कटिङ र फिलिङ गरेर पहिलेकै अवस्थामै यातायात सुचारु गर्न खोजिएको छ ।

तर, दशैँअघि बीपी राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा ल्याउन भने चुनौती रहेको उनको भनाइ छ । उनका अनुसार, नेपालथोक–भकुन्डे खण्डमा मात्र होइन, रोशी गाउँपालिकाअन्र्तगतको बर्खे खोलाको कटानले सडक भाँसिएको छ ।

उनका अनुसार, रोशी गाउँपालिकामा बर्खे खोलाले सडक कटान गर्दा त्यसखण्डको करिब एक किलोमिटर सडक भाँसिएको हो । अवरुद्ध उक्त सडक खुलाउन विभिन्न मेसिन र उपकरण प्रयोग गरिएको छ ।

त्यसबाहेक सडकखण्डका अन्य विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरो हटाउने र कालोपत्रे सडक पुर्ने काम भइरहेको छ । भाँसिएको सडक खण्डमा डाइभर्सन गरी वैकल्पिक रुपमा यातायात सुचारु गर्न पहल भइरहेको सडक डिभिजन भक्तपुरका सूचना अधिकारी सुमनराज बस्नेतले खबरहबलाई जानकारी दिए ।

भाँसिएको सडक पूर्ण रुपमा सुचारु गर्न अझै तीन महिना लाग्ने उनको भनाइ छ । ‘बीपी राजमार्ग पहिलेकै अवस्थामा पूर्ण सञ्चालनमा ल्याउन अझै तीन महिना लाग्ने देखिन्छ,’ उनले भने, ‘भीषण बाढीले सडक कटान गरी सडक नै बगाएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *