१० मंसिर,काठमाडौं-सरकारले सुनको भन्सार दर घटाएसँगै सुनको मूल्य उच्च रूपमा घटेको छ । सोमबार सुनको मूल्य एकैदिन १५ हजार ९०० रुपैयाँले घटेको हो । योसँगै सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ ।सुनचाँदीको मूल्य घटेसँगै देशभरका व्यवसायीसँग भएको सुनको स्टक मूल्य समेत त्यही अनुसार घटेको छ । यसले व्यवसायीहरूमा ठुलो नोक्सान भएको देखिन्छ ।
तर, सरकारको यो निर्णयको सुनचाँदी व्यवसायीहरूले भने स्वागत गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्य सुनमा भन्सार घटाउने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउँछन् । आफूहरूले लामो समयदेखि भन्सार दर समायोजन गर्न माग गर्दै आएकोमा सरकारले यो माग पूरा गरेको उनको भनाइ छ ।
भारतको भन्दा सुनमा भन्सार दर बढी भएकै कारण अहिले तस्करी हुँदै आएको थियो । सोही कारण सीमावर्ती बजारमा त सुनचाँदी व्यवसाय ठप्प प्राय नै थियो । तस्करी गर्नेले धेरै नाफा कमाउने भएकोले तस्करीको सुन ओसारपसार भइरहेको थियो ।
अब यो अवस्था समेत धेरै घट्ने उनको भनाइ छ । नेपालीले पनि सीमावर्ती भारतीय बजारमा गएर सुन ल्याउने प्रवृत्ति कम हुने शाक्य बताउँछन् ।