११ पौष,काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा केही अगाडि उनको बयान सुरु भएको हो । सहकारी ठगीका मुख्य नाइके गितेन्द्रबहादुर राई (जीबी) सँग मिलेर रकम अपचलन गर्ने लिला पछाईंको वयान सकाएर रविको सुरु गरिएको हो । पूर्वगृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा लगाइएको छ । शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ आर्जन गरेको अभियोग लागेको छ । सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको हो । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा ४४ जनालाई प्रतिवादी बनाएर अभियोग दर्ता गरेको थियो । सोमबारदेखि कास्की प्रहरीको हिरासतमा रहेका प्रतिवादीको वयान सुरु भएको छ ।
गोरखा मिडिया नेटवर्कका सञ्चालक पूर्वडिआईजी छविलाल जोशीको सोमबार र मंगलबार वयान लिएर सकियो । त्यसपछि मंगलबार र बिहिबार दुई दिन लगाएर पछाईंको वयान सकिएको हो । पक्राउ परेको आधारमा प्रतिवादीको वयान लिइएको छ । रविको सकाएपछि रामबहादुर खनालको हुनेछ । उनको सकाएपछि सूर्यदर्शनका पूर्वसञ्चालक कृष्णबहादुर गुरुङको वयान सुरु हुनेछ । सूर्यदर्शन सहकारीको मुद्वामा थप अभियोग, पूरक अभियोगमा गरेर ६३ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको पुष्टि भएकाले बिगो माग गरिएको छ ।