२९ पौष,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि ल्याएको अध्यादेश कुनै दल फुटाउन नल्याइएको बताएका छन् । सोमबार नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले भने, ‘मैले दल फुटाउन अध्यादेश ल्याएको होइन । त्यो अध्यादेश मध्यरातमा जारी गरियो भनेर पनि हल्ला गरियो । त्यो अध्यादेश त हामीले दिउँसै तयार गरेको हौँ ।’
प्रधानमन्त्री ओलीले आफूले जीवनभर स्वयंसेवीको रूपमा काम गर्दै आएको बताउँदै काम गर्दै जाँदा कतिपय कामको सेड्युल राति पुग्ने गरेको र त्यसलाई अनर्थ लगाउँदै भ्रम छर्ने काम भएको समेत बताए । उनले यसमा पत्रकारहरू पनि सचेत हुनुपर्ने बताए । ओलीले आफू भ्रष्टाचार नगर्ने र भ्रष्टाचार विरोधी अभियानमा रहेको समेत बताए । उनले पछिल्लो समय सामाजिक सञ्जालबाट अराजकता फैलिने काम भएको बताउँदै त्यस्तो कार्य रोकिनुपर्नेमा जोड दिए । आफूविरुद्ध स्विस बैंकमा पैसा राखेको भन्ने गलत प्रचार भएको बताउँदै उनले त्यसको पुष्टि गर्न समेत चुनौती दिए । महासङ्घ नेतृत्वले प्रधानमन्त्री ओलीलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले त्यसलाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको समेत बताए ।