०३ माघ,काठमाडौं- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट र अभद्र व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् । त्रिपाठीले बिहीबार प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका हुन् । बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितका पक्षबाट बहस गरेर काठमाडौं जिल्ला अदालतबाट बाहिरिँदै गर्दा उनीमाथि हातपात भएको थियो ।अदालत परिसरमा मुद्दाका प्रतिवादी एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले उनलाई घेरा हालेर लछार पछार गरेका थिए ।
त्रिपाठीमाथि भएको कुटपिटको घटनालाई लिएर नेपाल बार एसोसिएसन, सर्वोच्च बार र जिल्ला बारले समेत दोषीलाई कारबाहीको माग गरेका छन् । प्रहरीले त्रिपाठीमाथि हातपात गरेको आरोपमा बुधबारै ललितपुर टीकाथली बस्ने ललित केसीलाई पक्राउ गरेको थियो ।