७ माघ,काठमाडौं- निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच लामो समयदेखि चलिरहेको मानाचामलको मुद्दा किनारा लागेको छ । निकट स्रोतका अनुसार छवि शिल्पालाई आफ्नो करोडौं मूल्य पर्ने घर दिन सहमत भएका छन् ।
उनीहरुले दशैं अगाडि गरेको सम्झौता अहिले सार्वजनिक भएको हो । दुवैले यस विषयलाई गोप्य नै राख्न चाहेका थिए । अंशबन्डाको कानूनी प्रक्रिया जारी रहँदा छविले आफ्नो सम्पत्ति उपभोग गर्न पाइरहेका थिएनन् भने उनको बैंक खाता पनि रोक्का थियो । डिभोर्स टुंगिएसँगै दुवै आआफ्नो बाटो लागेका छन् ।
शिल्पाले प्राप्त गरेको घर काठमाडौंको गौरीघाटमा रहेको छ । करिब पाँच आना क्षेत्रफलमा बनेको साढे दुई तले घरको मूल्य झण्डै चार करोड पर्ने स्रोतले बताएको छ।छविले आफूभन्दा उमेरले ३० वर्ष कान्छी शिल्पासँग २०७३ साल असार २९ गते गोप्य रुपमा विवाह गरेका थिए । एउटा हात भाँच्चिएर प्लास्टर गरेको अवस्थामै उनले लगनगाँठो कसेको तस्विर तीन वर्षपछि मात्रै सार्वजनिक भयो, जतिबेला उनीहरुको सम्बन्ध बिग्रिसकेको थियो ।
२०७६ साल असारमा शिल्पाले आफू श्रीमानबाटै असुरक्षित गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । विभिन्न मिडियामा रुँदै अन्तर्वार्ता दिएर उनले छविबाट घरेलु हिंसामा परेको दाबीसमेत गरेकी थिइन् ।
सोही वर्ष शिल्पाले छविविरुद्ध जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेद र मानाचामलको मुद्दासमेत हालिन् । २०७९ सालमा अदालतले शिल्पाको पक्षमा फैसला सुनायो । अदालतले डिभोर्सको माग स्वीकार्दै छविले आफ्नो आधा सम्पत्ति शिल्पालाई दिनुपर्ने आदेश गर्यो ।
साथै छविको ऋणको आधा अंश पनि शिल्पाले स्वीकार्नुपर्ने फैसला थियो । छविले अदालतमा आफ्नो १० करोड ऋण देखाएका थिए ।
अंशबन्डामा कुरा नमिल्दा लामो समयसम्म मुद्दा किनारा लाग्न सकेको थिएन । शिल्पाको डिमान्ड चर्को थियो भने छविको अडान अर्को थियो । अन्ततः शिल्पाले विशुद्ध एउटा घरमै चित्त बुझाएकी छन् । दुई जनाको कुरा नमिल्दा मुद्दा लम्बिएर आआफ्नो हिसाबले जीवन अगाडि बढाउन असहज भएपछि उनीहरु सम्झौताको बिन्दुमा पुगेका हुन् ।
श्रीमतीलाई घर सुम्पिएपछि छवि अहिले डेरामा बस्दै आएको स्रोतले बताएको छ । उनी अहिले फेरि नितान्त एक्लै छन् । श्रीमतीसँगको कानूनी संघर्ष समाप्त भएसँगै उनी फेरि चलचित्रमा कमब्याक गर्न लागेका छन् । उनले ‘मंगलम २’ नामक चलचित्रको घोषणा गरिसकेका छन् ।