७ माघ,काठमाडौं-आइसिसी यू–१९ महिला विश्वकपमा नेपाल दोस्रो खेलमा पनि पराजित भएपछि सुपर सिक्समा पुग्ने सम्भावना न्युन भएको छ । पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा सोमबार स्कटल्याण्डसँग पराजित भयो ।
मलेसियामा भएको समूह ‘डी’ को खेलमा स्कटल्यान्डसँग १ विकेटले पराजित भएसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कठिन भएको हो ।नेपालले दिएको ७४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ९ विकेट गुमाएर १८.५ ओभरमा लक्ष्य पूरा गर्यो।स्कटल्यान्डका खेलाडीले अन्तिम विकेटका लागि स्कटल्यान्डले १६ रनको साझेदारी गर्दै नेपाललाई पराजित गरेका हुन् ।
त्यसअघि आठौं विकेटको रुपमा नेपालले स्कटल्यान्डका लागि सर्वाधिक रन बनाएकी पिपा स्परोललाई ३५ रनमा आउट गरेको थियो। उनलाई १७औं ओभरको चौथो बलमा रचना चौधरीले कृष्मा गुरुङबाट क्याच गराएकी थिइन्। दुई बलपछि मोइसी म्याकेइरा पनि नवौं विकेटको रुपमा आउट हुँदा नेपालको आशा बढेको थियो। तर अन्तिम विकेट लिन नसक्दा नेपाल पराजित भयो।
त्यसअघि मलेसियाको क्वालालम्पुरमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १८.५ ओभरमा ७३ रनमा अलआउट भयो।
नेपालका लागि कप्तान पूजा महतोले २७ रन जोडिन्। उनले ४३ बलमा ३ चौका प्रहार गरिन्। सावित्री धामीले १० रन बनाए पनि नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा स्कटल्यान्डकी मोइसी म्याकेइराले ५ विकेट लिइन्। उनले ३.५ ओभरमा १५ रन खर्चिइन्।नेपालले समूहको अन्तिम खेलमा पर्सी बुधबार अस्ट्रेलियासँग खेल्नेछ।