राष्ट्रिय युवा परिषद बोर्ड सदस्यमा सुदूरपश्चिमका रबेन्द्र विक्रम शाह नियुक्त

12 January, 2026 3201 Views
राष्ट्रिय युवा परिषद बोर्ड सदस्यमा सुदूरपश्चिमका रबेन्द्र विक्रम शाह  नियुक्त
3201

काठमाडौं । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्यमा सुदूरपश्चिमका युवा अभियन्ता रबेन्द्र विक्रम शाह नियुक्त भएका छन्। विगत एक दशकभन्दा बढी समयदेखि युवा सशक्तीकरण, नेतृत्व विकास र नागरिक सहभागिताको क्षेत्रमा सक्रिय रबेन्द्र विक्रम शाहलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आज राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्यमा नियुक्त गर्दै सपथ ग्रहण गराएका छन्।

शाह हालसम्म एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थामा आबद्ध रहँदै सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले जेसिज (JCI), युवा अभियान, Amnesty International Nepal, Nepal Youth Council, Youth NGO Federation Nepal, Lions Club लगायतका प्रतिष्ठित संस्थामार्फत युवाको नेतृत्व विकास, मानव अधिकार, सामाजिक उत्तरदायित्व, सुशासन तथा स्वयंसेवक अभियानहरूमा काम गर्दै आएका छन्।

युवा प्रतिनिधित्व, क्षमता अभिवृद्धि, रोजगारी, उद्यमशीलता तथा नीति निर्माण प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न उनी निरन्तर आवाज उठाउँदै आएका छन्। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम, तालिम र संवाद प्रक्रियामा उनको संलग्नताले युवाका मुद्दालाई संस्थागत रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छन् । ।

बोर्ड सदस्यमा नियुक्तिपछि शाहले युवा क्षेत्रमा विद्यमान समस्या र चुनौतीलाई सम्बोधन गर्दै आगामी दिनमा उद्यमशीलता प्रवर्द्धन, प्रभावकारी शिक्षा, हरेक क्षेत्रमा युवाको सक्रिय सहभागिता र प्रदेशस्तरमा युवा परिषद् गठनलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। साथै, युवा लागुऔषध दुव्र्यसनको अन्त्य, नीति निर्माण तहमा युवाको प्रभावकारी उपस्थिति र सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य सुदृढ बनाउने उनका प्रमुख एजेण्डा रहेको छ।

आफ्नो अनुभव र सीप प्रयोग गर्दै युवाको आवाजलाई नीति तहमा प्रभावकारी रूपमा स्थापित गर्ने, समावेशी र सक्षम युवा पुस्ता निर्माणका लागि इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। 

 

Related Post