विराजभक्त श्रेष्ठ रास्वपाको संसदीय दलको नेता

सेयर गर्नुहोस्

१५ माघ,काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनेता विराजभक्त श्रेष्ठलाई संसदीय दलको नेता बनाउने भएको छ ।

पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि कास्की जिल्ला प्रहरी कार्यालयले सम्पत्ति शुद्धीकरणको मुद्दा पनि लगाएपछि कानुन अनुसार सांसद पदबाट निलम्बनमा परेका छन् ।

कानुन अनुसार लामिछानेको सांसद पद निलम्बनमा परेपछि रिक्त भएको संसदीय दलको नेतामा उपनेता श्रेष्ठको बढुवा गरिने भएको रास्वपाका एक शीर्ष नेताले जानकारी दिए ।

रास्वपा संसदीय दलको बैठक बुधबार बिहान ११ बजेका लागि आह्वान भएको छ । उपनेता श्रेष्ठले बोलाएको बैठकले श्रेष्ठलाई नेतामा बढुवा गर्ने एक नेताले जानकारी दिए ।लामिछाने ८ पुसमा प्रतिनिधिसभा सदस्य पदबाट निलम्बनमा परेपछि रास्वपाको संसदीय दलको नेता रिक्त छ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट १८ माघमा संसद् अधिवेशन आह्वान भएकाले रास्वपाले श्रेष्ठलाई नयाँ दलको नेता चयन गर्ने तयारी गरेको एक नेताले जानकारी दिए ।

चितवन– २ बाट २०८० वैशाख १० गतेका उपनिर्वाचनमा विजयी लामिछाने निलम्बनमा परेपछि रास्वपाले कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याललाई तोकिसकेको छ ।

श्रेष्ठलाई दलको नेतामा बढुवा गर्न निलम्बित सभापति तथा दलको नेता लामिछानेको पनि ग्रिन सिंनल रहेको रास्वपा नेताहरू बताउँछन् ।

कार्यवाहक सभापति अर्यालले अहिलेलाई उपनेतालाई नै दलको नेता हुने बताए । नयाँ दलको नेता नचुन्ने उनको भनाइ छ । रास्वपा विधानमा नेताको अनुपस्थितिमा उपनेतालाई कार्यवाहक दिने व्यवस्था भएकाले त्यसै अनुरुप अघि बढ्ने तयारी रास्वपाले गरेको हो ।

दलको नेताका लागि रास्वपामा सुमना श्रेष्ठ र सोविता गौतमले आकांक्षा देखाएका छन् । श्रेष्ठ नेता भएपछि सुमना या सोवितालाई उपनेता बनाउनेबारे पार्टीमा कुराकानी भइरहेको एक नेताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *