वर्तमान सरकारले नागरिकमा धेरै आशा र भरोसा जगाएको छ : प्रदीप ज्ञवाली

सेयर गर्नुहोस्

१५ माघ, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले नागरिकमा आशा र भरोसा जगाएको बताएका छन् ।

देशले छोटो समयमा धेरै उपलब्धि हासिल गरेको उल्लेख गदै उनले देशमा सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा सरकारले महत्वपूर्ण काम गरेको बताए । प्रेस चौतारी नेपालले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले दुई ठूला पार्टी जुन उद्देश्यका साथ सरकारमा आएका छन् त्यो उद्देश्य पूरा गर्ने काममा लागिपरेको बताए । उपमहासचिव ज्ञवालीले पछिल्लो समयमा केही विपक्षी दलका नेताले चरम निराशाको खेती गरेर देशलाई राजनैतिक अस्थिरतातर्फ लैजान खोजेको आरोप लगाए । उनले सरकारबाट बाहिरिएपछि केही नेताले हतास, आवेग र कुण्ठामा जनतामा यस्ता निराशाका भाष्य निर्माण गर्ने काममा उद्यत बनेको टिप्पणी गरे । उनले बिग्रिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्न, ओरालो लागेको देशको अर्थतन्त्रलाई माथि उकास्न, देशमा सुशासन कायम गर्दै मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न वर्तमान सरकार गठनको आवश्यकता परेको बताए ।

उपमहासचिव ज्ञवालीले पछिल्लो समयमा देशको राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सँगै लडेका दुई ठूला पार्टीहरूले सरकारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गएको बताए । डेढ वर्षसम्मको अस्थिर राजनीतिक अवस्थालाई राजनीतिक स्थायित्व सिर्जना गर्ने, अर्थतन्त्रलाई गतिशील बनाउने र जनतामा देखिएको निराशाको बादललाई हटाउँदै लोकतन्त्रप्रति जनतामा भरोसा जगाउने काममा सरकार क्रियाशील बनेर लागेको नेता ज्ञवालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *