१५ माघ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनदिनै सरकार ढल्छ भन्नेहरुसंग आपत्ति जनाउदै २०८४ को मंसिरमा मात्र सरकार परिवर्तन हुने बताएका छन्। मंगलबार संसद् भवनस्थित ल्होत्से हलमा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले देशको राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक प्रणालीअन्तर्गत शान्तिपूर्ण रुपमा अगाडि बढिरहेको पनि बताएका छन्। उनले नेपाल श्रीलंका, बंगलादेश नबन्ने भन्दै संवैधानिक प्रक्रियाबाहेकका गतिविधि स्वीकार्य नरहेको बताए। उनले नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रिया स्वीकार्य रहेको उल्लेख गरे।
लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधिबाहेक अरु प्रकारका गतिविधि वा अराजकताका कुनै प्रकारका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव नरहेको बताए। उनले भने, ‘वास्तवमा भन्ने हो भने राष्ट्रिय राजनीति एउटा ट्रयाकमा गएको छ। राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक सिस्टममा, शान्तिपूर्ण राजनीतिको मुलधारमा, संवैधानिक राजनीतिको मुलधारमा, लोकतान्त्रिक प्रणालीको मुल धारमा अगाडि बढेको छ। यसअर्थ हामी यिनै दृष्टिकोणअनुसार सफलतापूर्वक अगाडि बढेका छौँ।’