२० माघ, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् । रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहले आफ्ना फेसबुक आइडीबाट ‘न्यायाधीश नेताका झोले कार्यकर्ता’ भनेर टिप्पणी गरेका थिए । आजपा अध्यक्ष साह र महासचिव त्रिभुवन साह उपर गत शुक्रबार मुद्दा दर्ता भएको हो । साह उपर अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप पनि छ । बाटो खाली गराउने क्रममा नगर प्रमुख यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गर्ने गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश भएको थियो । आदालतको आदेश आउनुअघि नै महासचिव साहले आफूलाई आदालत परिसरमै ज्यान मार्ने धम्की दिएको नगर प्रमुखले यादवले दाबी गरेका छन् । उक्त मुद्दामा आज सुनुवाइ हुँदैछ ।