२८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहँदासम्म बाम एकता नहुने बताएका छन् । प्रचण्डले तत्काल आफूहरुको सरकार बनाउनेतर्फ ध्यान नभएकाले कांग्रेससँग पनि सहकार्य नहुने बताए । उनले आफूहरु अहिले पार्टी सुदृढीकरणमै ध्यान दिइरहेकोले जनतातर्फ नै फर्किएको बताए । अहिले सरकारमा हाम्रो ध्यान छैन । हामी जनतामा जाने, जागरण ल्याउने, नयाँ किसिमले पार्टी विस्तार गर्ने, सुदृढीकरण गर्ने अभियानमा छौं । यो अभियान हाम्रो लागि जरुरी भएको छ’, प्रचण्डले भने, ‘देशको लागि जरुरी भएको छ । हाम्रो उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको निम्ति अझ मधेशी जनताका निम्ति अझ बढी आवश्यकता भएको छ । प्रचण्डले अगाडि भने, ‘हामी पनि कहिले एमाले, कहिले कांग्रेससँग मिल्दा उनीहरुको अलिअलि उनीहरुको कल्चर सर्याजस्तो भा’छ । हामी अलिकति नुहाइधुवाइ गरेर जनतासँग फेरि जानुपर्यो भन्ने छ । हामीलाई सरकारमा अहिले ध्यान छैन ।’