असोजमै हुम्लामा ‘हिउँको कहर’, लिमी–हिल्सा सडक ठप्प, हेलिकोप्टरमै भर

06 October, 2026 89 Views
असोजमै हुम्लामा ‘हिउँको कहर’, लिमी–हिल्सा सडक ठप्प, हेलिकोप्टरमै भर
89

सुर्खेत । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा असोजमै भारी हिमपात भएपछि लिमी र हिल्सातर्फको सडक यातायात अवरुद्ध भएको छ।

नाम्खा–५ को न्यालु लेक र वडा नम्बर ६ को नारा लेकमा तीन फिटभन्दा बढी हिउँ जमेको छ। हिउँ नपन्छाइँदा असोजको पहिलो सातादेखि लिमीको आवागमन ठप्प छ।

सडक बन्द भएपछि बिरामी तथा अन्य अत्यावश्यक कामका लागि बाहिर जान स्थानीयले हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था आएको छ। दसैँ–तिहार नजिकिँदै गर्दा ताक्लाकोटमा रहेका हुम्लाका बासिन्दालाई घर फर्किनसमेत समस्या भएको छ।

हिमपातले लिमीको सुनखानी प्रहरी चौकीसमेत प्रभावित भएको छ। चौकी आसपास करिब तीन फिट हिउँ जम्दा दाउरा, खानेपानी र खाद्यान्न व्यवस्थापनमा समस्या भएको छ। आवश्यक सामग्री पैदलै बोकेर पुर्‍याउनुपर्ने अवस्था छ।

चार हजार ६७० मिटर उचाइको नारा लेकमा साढे तीन फिटसम्म हिउँ जमेकाले हिल्सा–सिमकोट सडकसमेत बन्द भएको छ। सडक खुलाउन जेसिबी प्रयोग गर्नुपर्ने स्थानीयको भनाइ छ।

स्थानीयवासीले दसैँ–तिहारअघि नै न्यालु र नारा लेकको हिउँ पन्छाएर लिमी तथा हिल्साको यातायात सेवा तत्काल सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Related Post