काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा कतिपय स्थानमा यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् ।
सोमबार बिहान ६:४० बजेसम्मको प्राप्त विवरणअनुसार बागमती प्रदेशमा सडक अवरोधको असर बढी देखिएको छ । काभ्रेको बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेशीमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बीपी राजमार्गकै खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै राति ८ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरको कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशीस्थित चारकिलो र कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–स्थित खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पनि ठप्प भएको छ ।
दोलखाको लामासाँघु–रामेछाप सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भए पनि वैकल्पिक बाटोबाट सवारी सञ्चालनमा ल्याइएको छ । यस्तै, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा भने सवारी आवागमन सुचारु भएको छ ।
कोशी प्रदेशमा इलामको राजदुवालीमा पहिरो खसेपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यहाँ वैकल्पिक बाटोबाट आवागमनको व्यवस्था मिलाइएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरको बोखिम र खोटाङको माम्खामा सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
गण्डकी प्रदेशमा म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत बैसेरी र सुकेबगरमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ । बागलुङको कालीगण्डकी करिडोरअन्तर्गत बेलबगरमा पहिरो पन्छाएर एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको छ ।
लुम्बिनी प्रदेशमा रोल्पाको खोलावाङमा पहिरो खसेपछि घोराही–थवाङ सहिद राजमार्ग र पाल्पाको सिद्धबाबामा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबीसकोटमा बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । मुगुको झ्यारी खोलामा पहिरो जाँदा नाग्म–गमगढी सडकखण्ड पनि ठप्प भएको छ ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको सम्बन्धित निकायले जनाएको छ । जोखिमयुक्त सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन यात्रु तथा चालकलाई आग्रह गरिएको छ ।