काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्लाका जनप्रतिनिधिसँग छलफल थालेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा विपद्पछिको अवस्थाको समीक्षा, हालको परिस्थिति, तत्काल चाल्नुपर्ने कदम, राहत तथा पुनर्स्थापना र दीर्घकालीन पुनरुत्थानका विषयमा छलफल भइरहेको बताइएको छ।
छलफलमा नुवाकोटबाट प्रतिनिधिसभा सदस्य विक्रम तिमिल्सिना र अच्युतम लामिछाने सहभागी छन्। यस्तै, विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी पनि सहभागी छन्।
रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ छलफलमा सहभागी छन्। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भने अनलाइनमार्फत छलफलमा सहभागी भएका छन्।
त्यसैगरी धादिङका गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) पनि छलफलमा सहभागी छन्।
तनहुँबाट देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना (साकार) प्रधानमन्त्रीसँगको छलफलमा सहभागी छन्।
बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा राहत वितरणसँगै क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चारलगायतका पूर्वाधार पुनर्निर्माण तथा प्रभावित नागरिकको पुनर्स्थापनाका लागि आवश्यक कदमबारे जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसमक्ष धारणा राख्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहले प्रभावित स्थानीय तहको वास्तविक अवस्था, स्थानीय तहले भोगिरहेका समस्या तथा संघीय सरकारबाट तत्काल आवश्यक पर्ने सहयोगबारे जानकारी लिने र त्यसका आधारमा पुनर्स्थापना तथा पुनर्निर्माणको योजना अघि बढाउने बताइएको छ।