भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजारसम्म सहायता

भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजारसम्म सहायता
3

काठमाडौं । भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई सरकारले मासिक १५ हजार रुपैयाँसम्म सहायता दिने भएको छ।

गत १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म घरभाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि यस्तो सहायता दिने निर्णय सरकारले गरेको हो।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन्।

चार जनाभन्दा बढी सदस्य भएको परिवारलाई भने थप प्रत्येक सदस्यका लागि मासिक २ हजार रुपैयाँ अतिरिक्त दिइनेछ।

सरकारबाट दिइने यो सहायता लिन नचाहने परिवारका लागि स्थायी आवास निर्माण नहुँदासम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्पसमेत दिइएको छ।

सहायता उपलब्ध गराउन आवश्यक विवरण संकलनका लागि सम्बन्धित स्थानीय तहमा फारम पठाइसकिएको मन्त्री तिमिल्सिनाले बताएका छन्।

सरकारले बाढीबाट भएको प्रारम्भिक क्षति तथा नोक्सानीको मूल्याङ्कन पूरा गरिसकेको छ। अहिले विस्तृत आवश्यकता मूल्याङ्कनको काम भइरहेको र त्यसका आधारमा पुनर्निर्माण तथा पुनर्स्थापनाको काम अघि बढाइने सरकारको भनाइ छ।

Related Post