काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आवासीय बैठक काभ्रेमा सुरु भएको छ । बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा र सदस्यसचिव तथा पार्टी महासचिव शंकर पोखरेलले प्रस्तुत गरेका छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
काभ्रेको एक रिसोर्टमा शनिबारदेखि जारी बैठकमा दुवै प्रतिवेदनमाथि छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने तयारी छ । कार्यदलले सोमबारसम्म साझा प्रतिवेदन तयार गर्ने जनाएको छ ।
शुक्रबार बसेको कार्यदल बैठकमा संयोजक थापाले छुट्टै प्रतिवेदन प्रस्तुत गरेपछि त्यसमा थप छलफल गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।
स्रोतका अनुसार थापाले पार्टी अध्यक्षलाई हटाउने प्रस्तावसहित प्रतिवेदन ल्याएको भन्दै बैठकमा असन्तुष्टि जनाइएको थियो । जवाफमा कार्यदलका सदस्य विष्णु पौडेलले पार्टीको संरचना र अवस्थाबारे बुझेर अघि बढ्न सुझाव दिएको बताइएको छ ।
कार्यदलका बहुमत सदस्य महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनको पक्षमा रहेको स्रोतको दाबी छ । पोखरेलले कार्यदलकै तर्फबाट तयार पारेको प्रतिवेदनको विकल्पमा थापाले अर्को प्रतिवेदन ल्याएपछि कार्यदलभित्र असन्तुष्टि देखिएको बताइएको छ ।
बैठकले दुवै प्रतिवेदनका विषयवस्तु समेटेर साझा प्रतिवेदन तयार गर्ने तयारी गरेको छ ।