काठमाडौं । महिला कर्मचारी तथा श्रमिकको सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ।
विपक्षी दलका महिला सांसदहरूले दर्ता गराएको प्रस्तावमा छोटो सुत्केरी बिदाका कारण महिलाले रोजगारी र मातृत्वमध्ये एक रोज्नुपर्ने अवस्था रहेको उल्लेख गरिएको छ।
सरकारले ६ महिनासम्म स्तनपान गराउनुपर्ने विषयमा जोड दिँदै ‘सुनौलो १००० दिन’ अभियान सञ्चालन गरे पनि आमालाई ९८ दिन मात्रै बिदा दिने व्यवस्था व्यवहारिक नभएको सांसदहरूको भनाइ छ।
प्रस्तावमा बच्चा जन्माउने र हुर्काउने जिम्मेवारी महिलाको मात्रै हो भन्ने सामाजिक सोच परिवर्तन गर्नुपर्नेमा पनि जोड दिइएको छ।
त्यस्तै, घट्दो जन्मदर तथा निजी क्षेत्र, बैंक, गार्मेन्ट र अनौपचारिक क्षेत्रमा कार्यरत महिलाको मातृत्व अधिकारलाई ध्यानमा राख्दै आवश्यक नीति बनाउन माग गरिएको छ।
राजनीतिमा सक्रिय महिलाका लागि समेत सुत्केरी बिदाको स्पष्ट व्यवस्था नभएकाले उनीहरूलाई थप समस्या हुने गरेको प्रस्तावमा उल्लेख छ।