काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीले बाढीबाट आयोजनामा परेको क्षति तथा सञ्चालक नियुक्ति र राजीनामासम्बन्धी सूचना सार्वजनिक गरेका छन्।
सयपत्री हाइड्रोपावर लिमिटेडले बाढीका कारण २.५ मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण बन्द भएको जनाएको छ।
असोज ९ गते दरम खोलामा आएको भीषण बाढीले आयोजनाको स्वीचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको हरिचौर सबस्टेसनसम्मको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुर्याएको थियो। त्यसपछि राति ११ बजेदेखि विद्युत् उत्पादन र प्रसारण अवरुद्ध भएको कम्पनीले जनाएको छ।
बाढीका कारण ताराखोला क्षेत्रमा रहेका सञ्चार टावरमा समेत विद्युत् आपूर्ति बन्द भएपछि आयोजनास्थलमा रहेका कर्मचारीसँग सम्पर्क विच्छेद भएको थियो। सञ्चार सम्पर्क पुनःस्थापित भएपछि थप क्षतिको विवरण सार्वजनिक गरिने कम्पनीले जनाएको छ। क्षतिग्रस्त संरचना बीमाअन्तर्गत रहेको कम्पनीको भनाइ छ।
यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सर्वसाधारण शेयरधनी समूहबाट बिन्जु दाहाल महिला सञ्चालकमा नियुक्त भएकी छन्। असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले बीमा ऐन, २०७९ को दफा ४७ बमोजिम उनलाई नियुक्त गर्ने निर्णय गरेको हो।
उता, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका सञ्चालक तेजबहादुर चन्दको राजीनामा स्वीकृत भएको छ। व्यक्तिगत कारण देखाउँदै भदौ २२ गते दिएको राजीनामा असोज १ गते बसेको सञ्चालक समितिको बैठकले सोही मितिदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले नेप्सेलाई जानकारी दिएको छ।