बाढीले दसैँको अटो बजारमा धक्का, बुकिङ भएका गाडी बाटोमै अलपत्र

67

काठमाडौं । दसैँ–तिहारलाई वर्षकै मुख्य व्यापारिक सिजन मानिने अटो बजारमा यसपटक बाढी–पहिरोले ठूलो धक्का दिएको छ। भोटेकोशी बाढी र देशभरका सडक अवरोधका कारण चीनबाट आउने सवारीसाधन नाकामै रोकिएका छन् भने नेपाल भित्रिसकेका कतिपय गाडीसमेत सडकमा अलपत्र परेका छन्।

व्यवसायीका अनुसार रसुवागढी र तातोपानी नाका प्रभावित भएपछि विशेषगरी चीनबाट आयात हुने विद्युतीय सवारीसाधनको आपूर्ति प्रभावित भएको छ। दसैँका लागि बुकिङ गरिएका गाडी समयमै ग्राहकलाई हस्तान्तरण गर्न कठिन हुने अवस्था बनेको व्यवसायीहरू बताउँछन्।

नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीका अनुसार बाढीले कतिपय सवारीसाधन बोकेका कन्टेनरसमेत बगाएको छ। सडक र नाका तत्काल सञ्चालनमा नआए व्यवसायीले ठूलो आर्थिक भार व्यहोर्नुपर्ने उनको भनाइ छ।

पछिल्ला केही वर्षदेखि दसैँको मुख्य सिजनमै बाढी, आन्दोलन तथा अन्य अवरोधका कारण अटो बजार प्रभावित हुँदै आएको व्यवसायीहरूको भनाइ छ।

यसैबीच, भदौमा नेपालमा २ हजार १४५ युनिट विद्युतीय कार, जीप तथा भ्यान आयात भएका छन्। कुल २ हजार ६३२ प्यासेन्जर सवारीमध्ये ईभीको हिस्सा करिब ८१ प्रतिशत रहेको भन्सार तथ्यांकले देखाएको छ।

Related Post