गण्डकीमा बाढी–पहिरोको वितण्डा : १६ सडकखण्ड ठप्प, यात्रु अलपत्र

71

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र लेदोले गण्डकी प्रदेशमा सडक यातायात अस्तव्यस्त बनेको छ। राष्ट्रिय राजमार्गसहित १६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन्।

सिद्धार्थ राजमार्ग, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बेनी–जोमसोम, जोमसोम–कोरोला र चामे–बेँसीसहर सडकखण्डमा पहिरो र लेदो खसेपछि आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।

मुस्ताङ, म्याग्दी, मनाङ, बागलुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ र नवलपुरका विभिन्न स्थानमा सडकमा पहिरो, ढुंगा र रुख खसेका छन्। कास्कीमा मोदी खोलाले सडक कटान गरेपछि नयाँपुल–घान्द्रुक सडकसमेत पुनः अवरुद्ध भएको छ।

सडक खुलाउन सुरक्षा निकाय परिचालन भए पनि लगातार पहिरो खसिरहेकाले उद्धार तथा सडक सञ्चालनमा कठिनाइ भएको छ। प्रशासनले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Related Post