भारी वर्षाका लागि सुरक्षा बलदेखि अस्पतालसम्म तयारी

64

काठमाडौं । भारी वर्षा र बाढीको सम्भावनालाई मध्यनजर गर्दै सरकारले सुरक्षा, सडक, सञ्चार, स्वास्थ्यदेखि स्थानीय तहसम्मका निकायलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लामा सुरक्षा बललाई तयारी अवस्थामा राखेको छ । सम्भावित जोखिम भएका क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रमुख नदीमा बाढीको पूर्वानुमान पाँच दिनसम्म र साना नदीमा ४८ घण्टासम्म गर्न सकिने व्यवस्था मिलाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रातिको समयमा जोखिमयुक्त सडक खण्ड सञ्चालनमा प्रतिबन्ध लगाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार नेपाल टेलिकममार्फत बाढीसम्बन्धी चेतावनी सन्देश पठाइँदैछ भने मौसम तथा बाढीसम्बन्धी जानकारी ११५५ नम्बरबाट लिन सकिने व्यवस्था गरिएको छ ।

शिक्षा मन्त्रालयले जोखिमको अवस्था हेरेर आवश्यक परे विद्यालय बन्द गर्न सकिने जनाएको छ । कृषि मन्त्रालयले मनसुनका कारण बाली तथा कृषि उत्पादनमा पर्न सक्ने असर न्यूनीकरण गर्न दैनिक कृषि–मौसम सल्लाह जारी गरिरहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका कर्मचारीलाई असोज ११ गतेसम्म आफ्नो कार्यस्थलमा रहेर जिम्मेवारीमा खटिन निर्देशन दिएको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयले सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै अस्पताल, स्वास्थ्यकर्मी, औषधि तथा एम्बुलेन्सलाई २४ घण्टा तयारी अवस्थामा राखिएको जनाएको छ ।

यसरी भारी वर्षा र बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले विभिन्न मन्त्रालय र स्थानीय तहलाई आ–आफ्नो क्षेत्रमा आवश्यक तयारी र समन्वय बढाउन निर्देशन दिएको छ ।

Related Post