देशभर विपद्को घण्टी : पहिरोले राजमार्ग थुन्यो, नदीको बहाव खतरनाक बन्दै

9

देशभर विपद्को घण्टी : पहिरोले राजमार्ग थुन्यो, नदीको बहाव खतरनाक बन्दै

काठमाडौं । सावधान ! पृथ्वी राजमार्गका एक–दुई होइन, सात ठाउँमा पहिरो खसेको छ ! धादिङदेखि काभ्रे, चितवन हुँदै पूर्वी नेपालसम्म अविरल वर्षाले सडकदेखि नदीसम्म जोखिम चुलिएको छ। कतै पहिरोले राजमार्ग थुनेको छ, कतै नदीको उर्लिँदो बहावले बस्ती आसपास त्रास बढाएको छ। हेर्नुहोस् आखिर कहाँ–कहाँ बिग्रिएको छ अवस्था ?

अविरल वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत धादिङका सात स्थानमा पहिरो खसेको छ। कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खस्दा राजमार्गको यातायात प्रभावित बनेको छ। कृष्णभिर र तिगराङ खोलामा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

पहिरो पन्छाउन उपकरण परिचालन गरिए पनि आकाशबाट पानी झर्ने क्रम नरोकिँदा र माथिबाट पहिरो खसिरहँदा सडक खुलाउन चुनौती थपिएको छ।उता, पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्ड बन्द गरिएको छ। बीपी राजमार्गका काभ्रे खण्डसहित मेची राजमार्ग र मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पनि पहिरोले यातायात अस्तव्यस्त बनाएको छ।

यता नदीमा पनि भेल उर्लिएको छ। कोशी, तमोर, तिनाउ, दानव र रोहिणीलगायत नदीमा जलसतह बढेपछि आसपासका क्षेत्रमा सतर्कता बढाइएको छ।

वर्षाको प्रभाव अझै कायम रहने पूर्वानुमानसँगै बाढी, पहिरो र डुबानको जोखिम थप गम्भीर बन्न सक्ने देखिएको छ। जोखिमयुक्त सडक तथा नदी किनारमा अनावश्यक यात्रा नगर्न र सम्भावित विपद्बाट जोगिन उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

Related Post