सप्तकोशीमा पानीको बहाव २ लाख २९ हजार क्युसेक नाघ्यो, ३० ढोका खुला

11

काठमाडौँ । सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका ३० वटा ढोका खोलिएका छन् । शुक्रबार दिउँसो १ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर बग्ने पानीको बहाव २ लाख २९ हजार ९६० क्युसेक प्रतिसेकेन्ड पुगेको छ । पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ढोका खोलिएको सुनसरी प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार बिहान ९ः१५ बजे पानीको बहाव १ लाख ९० हजार ६८० क्युसेक पुगेको थियो । त्यतिबेला ब्यारेजका २४ ढोका खोलिएका थिए भने खतराको संकेतस्वरूप रातो बत्ती बालिएको र रातो झण्डा फहराइएको थियो ।

पानीको बहाव अझै बढ्न सक्ने भएकाले कोशी आसपासका तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान शाखाले पनि कोशीसहितका प्रमुख नदीमा आज र भोलि पानीको सतह उल्लेख्य रूपमा बढ्ने चेतावनी दिएको छ ।

नदी किनारमा नजान, जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ ।

Related Post