भारतमा बाढीको कहर, उत्तर प्रदेशमा ६२ जनाले गुमाए ज्यान

73

काठमाडौं । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखि परेको लगातारको भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । बाढीका कारण ४६ जना घाइते भएका छन् भने एक हजारभन्दा बढी घरमा क्षति पुगेको राज्य सरकारले जनाएको छ ।

अविरल वर्षाका कारण उत्तर प्रदेशका विभिन्न जिल्लामा बाढीको अवस्था गम्भीर बनेपछि राजधानी लखनऊसहित केही क्षेत्रमा सोमबार विद्यालय बन्द गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरी प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको छ ।

प्रशासनले जलमग्न क्षेत्रमा अनावश्यक यात्रा नगर्न स्थानीय बासिन्दालाई आग्रह गरेको छ । साथै तीव्र बहाव भएका नदी, खोला तथा नालाबाट टाढा रहन र सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ ।

लखनऊस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक अतुल कुमार सिंहका अनुसार बङ्गालको खाडीमा विकसित मौसम प्रणाली कमजोर हुँदै गएकाले सोमबारदेखि वर्षाको मात्रा घट्ने सम्भावना छ । उनका अनुसार मंगलबारसम्म उत्तर प्रदेशका पूर्वी तथा पश्चिमी क्षेत्रमा हल्का वर्षा भने जारी रहन सक्छ ।

यसैबीच, भारतको पूर्वी राज्य ओडिसामा पनि बाढीको प्रभाव परेको छ । बाढी प्रभावित क्षेत्रबाट ७५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।

Related Post