काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। राष्ट्रिय शोकका अवसरमा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।
मन्त्रिपरिषद्को भदौ १८ गते बसेको बैठकले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज देशभर शोक मनाउँदै मृतकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गरिँदैछ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार भोटेकोशी बाढीपछि हालसम्म १ हजार ३४२ जनाको शव फेला परेको छ भने ३ हजार ९९२ जना अझै बेपत्ता छन्। फेला परेका शवमध्ये ५३० जना पुरुष, ३२८ जना महिला र ४९५ जनाको पहिचान खुल्न सकेको छैन। बेपत्तामध्ये स्वदेशी तथा विदेशी नागरिकसमेत रहेका छन्।
बाढीपछि उद्धार, खोजी तथा शव व्यवस्थापनको काम अझै जारी छ। हालसम्म ९ हजार १५९ जनाको उद्धार गरिएको र ३ हजार १९० जनालाई होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये १ हजार ४४ वटा सुरक्षित रूपमा अन्त्येष्टि तथा व्यवस्थापन गरिएको छ भने बाँकीको पहिचान र व्यवस्थापनको प्रक्रिया अघि बढिरहेको छ।
शव पहिचानका लागि डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतकका १ हजार १८१ जना र आफन्तका १ हजार १९५ जनाको नमुना, गरी २ हजार ३७६ वटा नमुना संकलन गरिएको छ। खोजी, उद्धार, पहिचान तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली परिचालन भइरहेका छन्।